कैदीबन्दीलाई साँघुरो भयो ‘केन्द्रीय कारागार’



काठमाडौँ । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ ।

विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् ।


केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ईश्वरीप्रसाद पाण्डे एक हजार पाँच सय क्षमता रहेको केन्द्रीय कारागार सुन्धारामा हाल तीन हजार चार सय ४८ कैदीबन्दी रहेको बताउछन् । “कारागारको क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी अहिले केन्द्रीय कारागारमा छन्”, उनि भन्छन् ।

हाल केन्द्रीय कारागार परिसरभित्र रहेको केन्द्र जेलमा एक हजार नौ सय दुई, भद्र जेलमा एक हजार एक सय २२ र महिला जेलमा चार सय २४ कैदीबन्दी रहेका छन् । जसमध्ये केन्द्रीय कारागारमा एक हजार सात सय २० कैदी, एक हजार सात सय ३८ थुनुवा र १४ नाबालक रहेका छन् । जसमा दुई सय ५८ विदेशी कैदीबन्दी छन् ।

अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको कारागार प्रशासक पाण्डे बताउछन् । विसं १९७१ मा निर्माण गरिएका संरचनाबाहेक अहिले केही संरचना निर्माण भए पनि कैदीबन्दीलाई भने अझै अपुग भएको छ ।

केन्द्रीय कारागारको जिम्मा नेपाल प्रहरीले दिँदै आएको छ । काठमाडौँको केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा तीन सय ७६ प्रहरी परिचालन गरेको छ ।

केन्द्रीय कारागारसहित तीनवटै कारागारको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा कारागारभित्र सिसी क्यामरा जडान गरिएका कारण कैदीबन्दीको सुरक्षामा सहजता भएको बताउछन् । हाल केन्द्रीय कारागारमा दुई सय ५० र बाँकी दुई कारागारमा एक सय २६ प्रहरी कारागारको सुरक्षामा खटाइएको उनको भनाइ छ । केन्द्रीय कारागारबाहेक हाल डिल्लीबजार कारागारमा छ सय ३४ र नख्खु कारागारमा एक हजार तीन सय ९७ कैदीबन्दी रहेका छन् ।

यस्तै केन्द्रीय कारागारभित्र कारागार अस्पतालसमेत सञ्चालनमा रहेको छ । छ जना विशेषज्ञ डाक्टरसहित रहेको उक्त अस्पताल ३० श्ययाको रहेको छ । सो अस्पतालबाट कैदीबन्दीको छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ ।

केन्द्रीय कारागार साँघुरो हुँदै गएपछि सरकारले नुवाकोटको विदुर नगरपालिका वडा नं ६ खम्बाली क्याम्पमा केन्द्रीय कारागार निर्माणको कामलाई अगाडि बढाएको छ भने बाँकेको झुम्कामा क्षेत्रीय कारागार निर्माण गर्न लागेको छ ।

विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेअनुसार नुवाकोटमा केन्द्रीय कारागार निर्माणको कामले तीव्रता पाएको हो । उक्त कारागारमा सात हजार कैदीबन्दी अटाउनेछन् भने बाँकेमा तीन हजार कैदीबन्दी अट्नेछन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुईरदुई वटा कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । अहिले देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।