काठमाडाैँ । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाइएको थियो । सम्बोधनमा राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीजीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गरेका छन् । साथै उनले जी–२० मा भारतले पाएको अध्यक्षता सिङ्गो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवद्र्धन गर्ने अवसर भएको उल्लेख गरे ।
कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गरेका थिए । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे । दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ ।
सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दाहो-याउँदै, दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२२ पत्रिकाको लोकार्पण गरेको छ । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए ।