कर्णाली प्रदेश- सभामुखको निर्वाचन आज



कर्णाली । कर्णाली प्रदेश सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सभामुखका लागि दुईजनाको उमेदवारी परेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् । सत्तारूढ दलका साझा उमेदवार नेकपा एमालेबाट प्रदेशसभा सदस्य नन्दा गुरुङ र नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुख पदका लागि उमेदवारी दर्ता गराएका छन् ।


एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उमेदवारी दर्ता गराएका छन् । पोखरेल सुर्खेत क्षेत्र नम्बर–१ ‘क’बाट प्रत्यक्ष र गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।