काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी हुन् । उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेकी थिइन् ।
उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिमरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको समारोहका बीच सभामुख घिमिरेसमक्ष उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सभारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको राना शनिबार निर्वाचित भएकी हुन् । उपसभामुख भएपछि उनी पार्टीबाट अलग भएकी छिन् ।