२३ सदस्यीय मन्त्रिपरिषद्, कुन पार्टीबाट को बने मन्त्री ? (सूचीसहित)



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज पाच दलका १२ मन्त्री र तीन राज्यमन्त्रीलाई समेट्दै २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ ।

कसले कुन मन्त्रालय पाए ?


नवनियुक्त मन्त्रीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री बनेका छन् ।

राप्रपाका ध्रुवबहादुर प्रधान कानुनमन्त्री बनेका छन् । राप्रपाकै विक्रम पाण्डे सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, माओवादीकै सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीकै सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन् ।

नेकपा एमालेका सांसद हरि उप्रेती रक्षा, विमला राई पौडेल परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साह कृषि, दामोदर भण्डारी उद्योग र राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् । जनमत पार्टीका अब्दुल खान वन मन्त्री भएका छन्।

यसअघि, गएको पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शपथ लिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए । पुस १० गते प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।