सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप



बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् ।

आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका हुन् ।


मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतबार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराउनुभएको आरोप लगाएका हुन् ।

बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला छन् शाही परिवारका तिक्तता र वैमनस्यबारेका विवरण समेटिएको स्पेयर बेच्न । पुस्तकमा पूर्व राजकुमार ह्यारी र उनकी पत्नी मेघनले आफ्नो शाही भूमिका र पद त्यागेर क्यालिफोर्नियामा सर्ने निर्णय गरेका सनसनीपूर्ण खुलासा गरिएको छ ।

अन्तर्वार्तामा ह्यारीले आफू र मेघनलाई सौतिनी आमाका कारण सञ्चारमाध्यमले सताएका तथा त्यसले आफ्ना दाजु विलियम र उनकी पत्नी केटसँग सम्बन्ध बिग्रिएको बताउँदै सञ्चारमाध्यमले नै आफूहरूलाई सधैँ एकअर्काका विरूद्ध उभ्याएको उल्लेख गरेका छन् । मेघन र केटबीचको सम्बन्ध पनि त्यस्तै बनाएको उनको आरोप छ ।

अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि शाही परिवारमा जन्मदै नजन्मेको आफ्नो सन्तान रङ्गभेदको शिकार भएको ह्यारीले बताए । पुस्तकामा उनले आफ्नी आमा डायनाको असामयिक निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् ।

यसअघि ह्यारीले आफ्ना दाजु विलियमबाट आफूमाथि भौतिक आक्रमण भएको मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको खुलासा गरेका थिए ।

स्पेयरमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएका छन् ।

केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङ्घम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उनले आफ्नो ‘कलर’ समातेर दाजुले प्रहार गरेको उल्लेख गरेका छन् ।

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाएका छन् ।

दाजुको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको, फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका छन् । आफू घाइेत भएपछि दाजुले क्षमा याचना गर्नुभएको पनि उनले लेखेका छन् ।

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको, कौमार्य भङ्ग भएकोलगायत प्रसङ्गमा पनि संस्मरणमा समावेश छ ।