धनगढी । सुदूरपश्चिम प्रदेश आज पनि सभामुख चयन गर्न असफल भएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित बनेको हो ।
प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सभामुखका उम्मेद्वार माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन नसकेका हुन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।