नयाँ वर्षको पूर्वसन्ध्यामा लेबनानको उत्तरी तटबाट यात्रा गर्ने क्रममा २३० भन्दा बढी आप्रवासी बोकेको एउटा सानो डुङ्गा बिग्रियो र डुब्न थाल्यो । सामुद्रिक गार्डले तीमध्ये धेरैलाई उद्धार त ग¥्यो तर उनीहरूले निर्वासन समस्याको सामना गरिरहेका छन् ।
सिरियाली र प्यालेस्टाइनी शरणार्थीका साथै सन् २०१९ मा लेबनानको अर्थतन्त्र ध्वस्त भएपछि लेबनानी नागरिकसमेत सामुद्रिक बाटो जोखिम मोलेरै भएपनि यूरोप पुग्ने प्रयास हुनेगर्छ । यी प्रयासहरू प्रायः घातक हुने गरेको आप्रवासीमामिला हेर्ने राष्ट्रसङ्घीय निकायले बताएका छन् ।
यस पटक लेबनानको जलसेना र इजरायलसँगको सीमामा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका उद्धारकर्मीले दुई यात्रु, एक सिरियाली महिला र एक बालकबाहेक सबैलाई बचाउन सफल भएका थिए । तथापि, बाँचेकाहरूमध्ये थुप्रैका लागि राहत क्षणभङ्गुर थियो ।
उनीहरूलाई त्रिपोली बन्दरगाहमा फिर्ता ल्याएपछि लेबनानी सेनाले उद्धार गरिएका करिब २०० सिरियालीलाई ट्रकमा लोड गरेर उत्तरपूर्वी लेबनानको दुर्गम क्षेत्र वादी खालिदको अनौपचारिक सीमा नाकाको सिरियाली क्षेत्रमा छोडिएका केही जीवित व्यक्ति र मानव अधिकार अनुगमनकर्ताहरूले बताएका छन् ।
देश निकालाको आदेश कसले दिएको थियो भन्ने स्पष्ट नभए पनि यो घटनाले लेबनानी सेनाले सिरियालीहरूलाई देश निकाला गर्ने कार्यलाई बढावा दिएको पुष्टि गरेको छ ।
सेना र सामान्य सुरक्षा अधिकारी, अध्यागमन मुद्दाहरूको व्यवस्थापनको लागि जिम्मेवार एजेन्सीहरूले टिप्पणीको लागि बारम्बार गरिएको अनुरोध पछि पनि यसबारे जवाफ दिएका छैनन् ।
केही समय पहिले सीमाको अर्कोतिर डुङ्गाबाट बचेकाहरूलाई सिरियाली सेनाको पोशाक लगाएका मानिसहरूले रोकेर प्लास्टिकका ठूला ठूला हरितगृहहरूमा लगेका थिए । परिवारका सदस्यहरूले उनीहरूलाई छुटाउन पैसा नदिएसम्म र तस्करहरूले लेबनान फिर्ता नल्याएसम्म उनीहरूलाई त्यहाँ बन्धक बनाइएको थियो ।
यसबारे सन् २०१२ देखि लेबनानमा बस्दै आएका ३२ वर्षीय सिरियाली शरणार्थी यासिन अल यासिनले भने, “यो मानिसहरूको किनबेच, तस्करीको विषय थियो ।”
सिरियाली सेना र तस्करबीच विभाजन गर्न आफूले ६०० अमेरिकी डलर तिरेको र आफ्नो भाइलाई लेबनान फर्काइदिएको अल–यासिनले बताए । सिरियाली अधिकारीहरूले उक्त आरोपबारे टिप्पणीका लागि अनुरोध गरिएपनि जवाफ दिन अस्वीकार गरे ।
सिरियाली होम्स क्षेत्रका ४३ वर्षीय शरणार्थी महमुद अल–दायुवले डुङ्गामा बाँचेकामध्ये एकले अपहरणकारीले प्रत्येक बन्दीको मूल्यबारे कुराकानी गरेको आफूले सुनेको बताए ।
सन् २०१२ देखि लेबनानमा शरणार्थीका रुपमा दर्ता भएका दायुबले भने, “यो सिरियाली सेना हो वा तस्कर, मलाई थाहा छैन ।
उनले भने, “३० जना मानिस बन्दुकसहित हामीलाई घेरेका थिए र के भइरहेको छ भन्ने हामीलाई थाहा थिएन । “मलाई सिरिया नलगियोस् भन्ने मात्र मेरो चिन्ताको बिषय थियो किनभने यदि मलाई सिरिया लगियो भने म फर्कन सक्दिनथेँ ।
दायुवले भने, “म भाग्न सफल भएँ र सीमापारी भाग्न सफल भएँ । उनको परिवारले उनको लागि फिरौती तिरेन ।
लेबनानले सिरियाली शरणार्थीलाई घर फर्कन दबाब दिइरहेको बेला डुङ्गामा बाँचेकाहरूको घटनाले नयाँ मोड ल्याएको मानवअधिकार अनुगमनकर्ताहरूले बताएका छन् ।
लेबनानमा लगभग आठ लाख १५ हजार दर्ता भएका सिरियाली शरणार्थीहरू छन् र सम्भवतः लाखौँको सङ्ख्यामा दर्ता नभएका शरणार्थी छन् । यो विश्वको प्रतिव्यक्ति शरणार्थीको सबैभन्दा बढी जनसङ्ख्या हो ।