पेरुको समुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ । त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ वटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ ।
इन्स्टिच्युटका अनुसार बुधबार यहाँको समुद्रमा अकस्मात छाल बढेको थियो । पहिलेको किनारा नाघेरै माथि आउन थालेपछि समुद्रिक किनारमा रहेका बन्दरगाहहरु नै बन्द गराइएको इन्स्टिच्युटले जनाएको छ ।
आँधी आउन सक्ने सम्भावना भन्दै ती बन्दरगाहहरु यही जनवरी १६ तारिखसम्मका लागि बन्द गराइएको सूचना पनि यहाँका सरकारी अधिकारीहरुले दिएका छन् । पेरुको उत्तरपश्चिमी सामुन्द्रिक किनारमा यस्तो छाल बढेको हो ।
त्यस क्रममा सो सामुन्द्रिक किनारमा माछा मारिरहेका एकजना ७० वर्षीय व्यक्तिलाई छालले बगाएर समुन्द्रमा मिसाएको थियो ।
सरकारी निकायले सूचना प्रकाशन गरेर समुद्रको छाल बढेकोले केही दिनसम्म यसको किनारमा नजान र माछा मार्ने या अन्य कार्यहरु समुद्र किनारमा नगर्न भनेको छ ।