काठमाडौँ । बुधबार चार मुख्यमन्त्रीहरू नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । गत आइतबार सत्ता गठबन्धनबीच केन्द्रमा सहमति भएपछि सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेको हो ।
आज मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीहरू नियुक्त भएका छन् । योसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएको हो । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशले यसअघि नै मुख्यमन्त्री पाइसकेका थिए ।
कुन प्रदेशमा को बने मुख्यमन्त्री ?
प्रदेश-१ : हिक्मत कार्की, नेकपा एमाले
प्रदेश-१ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । उनी गत आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेशसभा सदस्यको समर्थन छ ।
मुख्यमन्त्री कार्कीलाई समर्थन गरेपनि माओवादी केन्द्र भने असन्तुष्ट छ । केन्द्रले प्रदेश-१ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि माओवादी केन्द्र प्रदेश-१ असन्तुष्ट बनेको हो ।
माओवादी प्रदेश-१ ले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । सरकारमा सहभागिताका लागि माओवादी प्रदेश-१ ले केन्द्रको निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । सत्ता साझेदार दल माओवादीले प्रदेश-१ मा मुख्यमन्त्री दाबी गरेको थियो ।
मधेश प्रदेश : सरोजकुमार यादव, जसपा
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहको समेत उनलाई समर्थन छ । उनले आगामी शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।
बागमती प्रदेश : शालिकराम जमकट्टेल, माओवादी केन्द्र
बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र बागमतीका संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् । जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
१ सय १० सदस्यीय रहेको बागमती प्रदेशमा उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते विश्वासको मत लिँदैछन् ।
गण्डकी : खगराज अधिकारी, नेकपा एमाले
नेकपा एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका छन् । उनलाई गत सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले समेत समर्थन जनाएका छन् । उनले शुक्रबार विश्वासको मत लिँदैछन् ।
लुम्बिनी : लीला गिरी, नेकपा एमाले
लुम्बिनीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनलाई ५८ प्रदेशसभा सदस्यको समर्थन छ । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा) र नाउपाका चार÷चार, जसपा, लोसपा र जनमत पार्टीका तीन/तीन र दुई स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
कर्णाली प्रदेश : राजकुमार शर्मा, माओवादी केन्द्र
कर्णालीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राप्रपका एक÷एक जना प्रदेश सांसदले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।
सुदूरपश्चिम : राजेन्द्रसिंह रावल, एमाले
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन् । एमालेका १०, माओवादी केन्द्रका ११, नाउपाका सात र राप्रपाको एक गरी २९ जना सांसदको समर्थन पाएका रावललाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सत्ता साझेदार दलबीच गत आइतबार प्रदेशको बाँडफाँड भएको थियो । सात प्रदेशमध्ये प्रदेश-१, गण्डकी र लुम्बिनी नेकपा एमालेले र कर्णालीमा माओवादी केन्द्रले पुरै कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
बागमती र सुदूरपश्चिममा भने एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यस्तै मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
तर, केन्द्रको निर्णयमा असहमति जनाउँदै प्रदेश-१, कणार्लीमा भने केही विवाद सिर्जना भएको छ । यद्यपि, कणार्लीमा भने आधा-आधा सरकारको नेतृत्व गर्ने एमाले-माओवादीबीच सहमति भइसकेको छ । प्रदेश-१ को विवाद भने कायमै छ ।