सभामुखको जिम्मेवारी चुनौतीपूर्णः रामचन्द्र पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभामा पक्ष र विपक्षलाई मिलाएर लैजाने चुनौती सभामुख देवराज घिमिरेसामु रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै पौडेलले संसदमा पक्ष र विपक्षलाई मिलाएर लैजाने कुरा अप्ठ्यारो रहेकाले सन्तुलन मिलाएर अगाडि बढ्न आग्रह गरेका हुन् ।


उनले भने,’सभामुखको जिम्मेवारी महत्वपूर्ण र चुनौतीपूर्ण छ । संसदमा पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा अप्ठ्यारो छ । सन्तुलन मिलाएर अघि बढ्नुहोला, शुभकामना छ ।’

उनले केहीले पूर्वाग्रही व्यवहार गर्न सक्ने भएकाले त्यसबाट जोगिन पनि सभामुख घिमिरेलाई आग्रह गरे । उनले भने,’कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई सभामुखले कौशलता देखाएर सम्बोधन गर्न जरुरी छ।’

पौडेलले आफू सभामुख हुँदा संसद विघटनको स्मरण गरे । उनले सदनमा प्रतिपक्षमा सहिष्णुता नहुँदा त्यतिबेला संसद विघटन भएकोअनुभव सुनाए ।