सडक डिभिजन जुम्लामा कर्मचारी अभाव



जुम्ला । जुम्लास्थित सडक डिभिजन कार्यालयमा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न सकस भएको छ ।

साविकको माथिल्लो कर्णालीका कालिकोट, मुगु र जुम्ला गरी तीन जिल्लालाई हेर्ने सो डिभिजन कार्यालयमा प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म कठिन हुने गरेको डिभिजन प्रमुख राजीव श्रेष्ठले बताए । उनका अनुसार कार्यालयमा १२ जना सब–इञ्जिनियरको दरबन्दी भए पनि तीन जना मात्र कार्यरत छन् । नौ जना सव–इञ्जिनियरको दरबन्दी पनि रिक्त छ । पाँच जना इञ्जिनियरको दरबन्दीमध्ये कार्यालयमा दुई जना मात्रै रहेको उनले जानकारी दिए ।


भौगोलिक विकटताका कारण कर्णालीमा इञ्जिनियर र सब-इञ्जिनियर आउन नमान्ने गरेको उनको भनाइ छ । पटक-पटक दरबन्दी अनुसारको जनशक्ति पठाउन माग गरे पनि जनशक्ति नआएको उनको भनाइ छ । जनशक्ति अभावले काम गर्ने निकै सकस हुने गरेको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । अहिले कार्यालयले चार वटा कर्णाली राजमार्ग, नाग्म गमगडी सडक, मनाङ-मुस्ताङ जोड्ने सडकदेखि जुम्ला-डोल्पा सडकमा काम गरिरहेको छ ।