संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा छैन : अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन प्रतिगामी थियो भन्ने महसुस एमाले अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचेपनि अझै आत्मलोचना हुन नसकेको बताए ।

उनले ओलीले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए । उनले प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधिसभा विघटन गर्नेकुरामा नलाग्न आग्रह गरे । उनले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गरे ।


अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘ प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यकता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिवद्धता छ की छैन, शंका गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्टममा मैले सुने संसद विघटन गर्न पाइन्छ । यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो । जसरी प्रतिनिधि सभालाई बीचमै विघटन गरियो । के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणा कालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु ।  गठबन्धनले आत्मलोचना, महसुस गरेको होला भनेको त यहाँ गर्जिएको देख्दा अचम्म लाग्यो, हिजै जवाफ दिने पक्षमा थिएँ, पहिलो दिन के भन्नु भनेको त कुरा अझै आत्मलोचना छैन । यस्तो गोल चक्करमा नफस्नुस् । संविधानले आफूखुशी संसद विघटन गर्ने अधिकार दिएको छैन ।’

अध्यक्ष नेपालले अर्को सरकार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन नपाउने बताए ।