शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह



काठमाडाैँ । राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन ढोका खुल्ला भएको धारणा राखे ।

नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए । उनले भने, ‘सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुनेछ ।’ नेपाली कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकता औंल्याए ।


उनले भने, ‘यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिनछ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई–टिकटको व्यवस्था गरियोस् ।’ एमालेका तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले भूगोलका आधारमा जनसङ्ख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण र सुशसान कायम गर्नु आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ ।’ नेकपा (एकीकृत समाजवादी)का गरिमा शाह नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरे । नेकपा (माओवादी केन्द्र)का बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीरुपमा राष्ट्रिय सरकारकारुपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राखे ।

उनले भने, ‘यो सरकार सुशासन दिन सक्षम हुनेछ, मुलुकलाई समृद्धिमा लैजाने ठूलो अवसर मिलेको कुरा प्रधानमन्त्रीले प्राप्त मतले पुष्टि गरेको छ ।’ एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताए । उनले भने, ‘हवाई यात्रालाई विश्वासनीय र परपर्दाे तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न आवश्यक छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे नीति र विधि अधुरो रहेकाले प्रदेश सरचना अझै अस्तव्यस्त रहेको बताए ।