विमान दुर्घटना : अझै भेटिएनन् चार जना, गोताखोरले खोजी गर्दै



पोखरा । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चार जनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ ।


उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइने छ । काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो । अप्ठेरा खोंचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले जानकारी दिए ।

उद्धारका लागि दुई सय बढी विशेष फौज परिचालन
नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।

विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा सेनाले उद्धार कार्य गरिरहेको उनले बताए । विमान अप्ठेरो खोंचमा दुर्घटना भएकाले सेनासहितका सुरक्षाकर्मीले तत्काल आगो निभाउने र छरिएर रहेका शवलाई डोरी, भर्‍याङ र विशेष उपकरणको सहयोगमा निकाल्ने काम गरिरहेको छ ।