बागलुङ । खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे । परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर अहिले ती घरले रुपरङ बदलेका छन् । बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन् ।
गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ । निसीखोला–३ की तुलसी विकले हरेक दुई–दुई वर्षमा घरको छानो फेर्दै आएका थिइन् । आर्थिक अभावमा गुज्रिँदै आएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो ।
वर्षौदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि उनलाई राहत मिलेको छ । वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उनी बताउँछन् ।
‘एकै वर्षमा खर कुहिन्छ’, उनले भनिन्, ‘अब त छानो फेर्न नपर्ला कि ?’ विगतमा खरको समस्याले पानी चुहिने अवस्थामा पनि छानो फेर्न नसकेको वडा नं ५ का तिलकुमार विक बताउँछन् । गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि उनी हर्षित छन् । ‘अब ढुक्क भइयो, आगलागी हुने डर पनि कम भयो’, विकले भने ।
निसीखोलाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न रु ३० लाख विनियोजन गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । गाउँपालिकाले अघिल्ला वर्षमा एक सय तीन घरमा जस्तापाताको छानो हालेको थियो । ‘यस वर्ष बाँकी रहेका घरमा जस्तापाता हाल्ने क्रम जारी छ’, उनले भने ।
गाउँपालिकाले सात वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जनाको घरमा अघिल्लो पटक जस्तापाताको छानो हालिएको थियो । ‘हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यसैले गाउँपालिकाले नै जस्तापाताको छानो हाल्न थालेको हो’, गौतमले भने ।