विद्रोहीका कारण कङ्गोमा विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै



कङ्गोमा पछिल्लो समयमा विद्रोहीहरुले हिंसात्मक हमला बढाएका छन् । जसका कारण यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित हुन पुगेका छन् ।

संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही महिनायता यहाँका एम २३ नामको विद्रोही समूहले सशस्त्र हमला गर्ने गरेको छ ।


यस्ता हमलाहरुमा नागरिक पर्ने भएकाले उनीहरुलाई त्यहाँबाट विस्थापित हुने गरेका संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी एजेन्सीको एक रिपोर्टअनुसार यहाँका ९० हजार मानिस केही हप्तायतामात्र विस्थापित हुन पुगेका छन् ।

कङ्गोको सरकारी सुरक्षा फौज र उक्त विद्रोही समूहका बीचमा पछिल्ला हप्ताहरुमा भएका झडपहरुमा नागरिक पनि पर्ने गरेका छन् ।

जसका कारण स्थानीय नागरिक भागेर अन्यत्रै जाने गरेका संयुक्त राष्ट्रसङ्घीय एजेन्सीले जनाएको छ । खासगरी उत्तरी कङ्गोको किभु प्रान्तमा यस्तो विद्रोह हुने गरेको बताइएको छ ।

विद्रोहमा परेर कम्तीमा पनि ९० हजार स्थानीय नागरिक त्यहाँबाट विस्थापित भएका र उनीहरुलाई मानवीय सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले बताए ।

उनले सरकारी सुरक्षा फौजमाथि तथा सो प्रान्तका सरकारी अधिकारी एवं स्थानीय सर्वसाधारलाई नै विद्रोहीले तारो बनाउने गरेका बताए ।

पछिल्लो हमलाहरुमा कैयौँ नागरिकको ज्यान गएको छ भने हजारौँ जना आफ्ना घरबास छोडेर भागेका छन् ।