विकास खर्च बढाउन नेपाल उद्योग परिसंघको आग्रह



काठमाडौँ । नेपाल उद्योग परिसंघ टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ । 

परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले बताए ।


अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरूलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए । 

 परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रबर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । 

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याहरूको समाधान गर्दै अगाडि बढ्ने उल्लेख गरे । ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटवार्तामा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष सुशीलकुमार श्रेष्ठ सहभागी थिए ।