वाग्मती प्रदेश : उपसभामुख चापागाइँले लिइन् शपथ



काठमाडाैँ । वाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाइँले आज पद तथा गोपनियता शपथ लिएकी छिन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट सपथ लिएकी हुन् ।

सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवनकुमार पाठक, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र बिना विभागीयमन्त्री उद्धब थापा उपस्थित थिए । नवनिर्वाचित उपसभामुख चापागाइँले आजै प्रदेशसभा सचिवालय गएर कार्यभार सम्हालिन् ।


सोमबार बसेको प्रदेशसभाको बैठकले उनलाई उपसभामुख पदमा निर्वाचित गरेको थियो । नवनिर्वाचित उपसभामुख चापागाइँले विसं २०४५ सालदेखि काभ्रेको पनौतीबाट तत्कालीन नेकपा (माले)को साधारण सदस्यता प्राप्त गरी राजनीतिक जीवन सुरु गरिन् । पछि नेकपा (एमाले) वाग्मती कमिटीको सदस्य र कार्यालय सचिव भइन् ।

सोही पार्टीको जनवर्गीय सङ्गठनको महिला सङ्घ र वन तथा वातावरण क्षेत्रमा भूमिका निर्वाह गरिन् । चापागाइँ विद्यार्थी जीवनमा पनि अध्ययनका साथै विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आएकी थिइन् । उनी समानुपातिक प्रदेशसभा सदस्य छिन् ।