लिफ्टिङ खानेपानी योजनाको काम सुरु



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजनाको काम थालिएको हो ।

लफ्याङस्थित साप्सुखोला किनारमा शनिबार आयोजित कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका छन् । साप्सुखोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देवीस्थानमा निकालेर दुई हजार तीन सय ८२ घरधुरीलाई वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो ।


सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत रु ५४ करोड ६७ लाख ९० हजार सात सय १६ मा मृत सञ्जिवनी–सगरमाथा जेभी काठमाडौँले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ । निर्माण कम्पनीले विसं २०८२ भदौ ४ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो ।

खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । निर्माण कम्पनीले विसं २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ ।

लिफ्टिङ खानेपानी योजनाअन्तर्गत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सातवटा गार्ड हाउसलगायतका संरचना बन्ने जनाइएको छ । एक सय तीन किलोमिटर वितरण पाइप लाइन र खोलाबाट पाँच हजार एक सय ट्रान्समिसन लाइनको काम हुने निर्माण कम्पनीका इञ्जीनियर हरिदेवकिशोर रजकले जानकारी दिएका छन् ।

खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देवीस्थानमा निकाल्ने योजनासहित लिफ्टिङको काम अघि बढाइएको छ । एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाइड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत (विसं २०७८)देखि सञ्चालनमा ल्याइएको हो ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल वडा नं १ दिक्तेल, २ सोल्मा र ३ बाम्राङका एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

करिब वर्ष दिनअघि सञ्चालनमा ल्याइएको सहरी खानेपानी तथा सरसफाइ आयोजना विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ । दिक्तेल बजारको ढलान गरिएको सडकमुनि बिच्छ्याइएको खानेपानीको पाइपमा ठेकेदारको लापरवाहीका कारण समस्या देखिएपछि ढलान काटेर मर्मत गर्दा विभिन्न ठाउँमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।