ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी



ललितपुर । ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् ।

विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गरेका निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए ।


उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भएका छन् ।

महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भए भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका छन् ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भई अपरान्ह ४ बजे सम्पन्न भएको थियो । कूल आठ सय १२ मतदाता रहेकोमा छ सय मत खसेको थियो । १५ सदस्यीय कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ ।