लक्ष्मी महत्तो पक्राउबारे चाँडै नतिजा आउँछ : गृहमन्त्री लामिछाने



काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । 

संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘मैले बोल्ने मात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो,’ उनले भने, ‘हामीले निर्देशन गरिसकेका छौं । अब नतिजामा देख्नु हुन्छ ।’


त्यस्तै, उनले आफू काम पनि गर्ने र विज्ञप्ति पनि निकाल्ने बताए । हामी काम पनि गर्ने, विज्ञप्ति पनि निकाल्ने हो।’ लामिछानेले भने ।

गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण गराएकाे थियो । 

सो विषयमा आपत्ति जनाउँदै सांसद शनिबारको संसद् बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले प्रश्न गरेका थिए । ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो ?’ उनले प्रश्न गरेका थिए ।

सो विषयको जवाफ दिँदै लामिछानेले भनेका छन्, ‘विज्ञप्ति एउटा जानकारी गराउनका लागि निकालिएको हो। सर्वसाधारणले सम्बोधन गरुन् भन्ने भएर विज्ञप्ति निकालेको हो।’

ज्यान मुद्दामा प्रतिवादी रहेका लक्ष्मी महत्तो कोइरी नेकपा (एमाले)ब ाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा संसद्मा उपस्थित भएका थिए । तर, प्रहरीले पक्राउ नगरेको भन्दै संसद् सचिवालयले उनलाई पदबाट निलम्बन भने गरेको छैन ।