रेशम चौधरी रिहा नभएसम्म प्रतिपक्षमै बस्छौं : रञ्जिता



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका विश्वासको मतमा समर्थन गर्दै उनले रेशम चौधरीसहित थार बन्दीहरू रिहा नभएसम्म आफूहरू प्रतिपक्षमै बस्ने बताए ।


‘तपाईको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहँदैनौं’ उनले भने, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’

प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरू सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले भने, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’

प्रधानमन्त्री नियुक्तिका लागि प्रचण्डलाई समर्थन गरेपछि आफूहरू निरन्तर मतदाताको सम्पर्कमा रहेको भन्दै उनले मतदाताले सरकारमा नजान खबरदारी गरेको पनि बताइन् ।