राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्ने प्रयास जारिरहेको बताएका छन् ।

बिहीबार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताए । 


उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’

प्रधानमन्त्रीले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकैठाउँ उभिएको र उपसभामुखको चुनाव पनि यही प्रक्रियाबाट हुने बताए ।