काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ ।
रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा बुधबार पाँच जना वकिलले बहस गरेका छन् । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन् ।
बहसका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीक सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएको जिकिर गरेका छन् ।
अधिवक्ता रवि बसौलाले लामिछानेले काठमाडौंस्थित अमेरिकी राजदूतावासमा २०७५ जेठ ४ मा नागरिकता त्याग्न निवेदन दिएको तर दूतावासबाट जवाफ नआउँदै असार ६ गते अध्यागमनमा गएर नागरिकता त्याग्दैछु भनेर सूचना दिएको बताए ।
लामिछानेको अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया असार १४ गते मात्र पूरा भएको बताउँदै उनले कानुनले भनेको नागरकिता त्यागको निस्सा त्यसपछि मात्र प्राप्त हुने भएकाले त्यो निस्सा अहिलेसम्म नेपालका अधिकारीहरूलाई नबुझाएको दावी गरेका छन् । रिट निवेदकका तर्फबाट बहस गरेका अन्य वकिलहरूले पनि यही कुरामा जोड दिएका छन् ।
अब लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गर्नेछन् । संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।