काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न सञ्चारमाध्यमहरूका सम्पादकसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् ।
त्यस्तै, उनले आइतबार बैठकको आह्वान गर्ने भन्दै भने, ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ ।’
आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । सत्तारुढ दलहरूबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।