मधेस-प्रदेश सरकारको खर्च निराशाजनक



धनुषा । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको ६ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

प्रदेश सरकारले चालु आवको ६ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवको ६ महिनाको अवधिमा चालु तथा विकास खर्च तीन अर्ब ६६ करोड ९५ लाख ६५ हजार ६ सय ७० रुपैयाँ खर्च गरेको छ भने अब बाँकी रहेका महिनामा ४३ अर्ब २१ करोड १३ लाख ८० हजार तीन सय २९ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।


प्रदेश सरकारले चालु आवका लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजार रुपैयाँ को बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ थियो । वित्तीय व्यवस्थापनतर्फ १६ करोड ६४ लाख ५६ हजार दुई सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

कोलेनीका प्रमुख गिरीले खर्च भएको रकममध्ये अधिकांश बजेट चालुतर्फ खर्च भएको जानकारी दिए । उनका अनुसार चालुतर्पmको खर्चमा कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालन रहेको छ । खास गरेर तीनै तहका निर्वाचनसहितका विभिन्न कारणले यसपटक विकास खर्चको अवस्था निराशाजनक रहेको प्रदेश सरकारको दाबी रहेको छ ।

मन्त्रालयगतरुपमा हेर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६ महिनाको अवधिमा ६ करोड तीन लाख १४ हजार दुई सय ६३ बजेट रुपैयाँ खर्च गरेको छ भने अर्थ मन्त्रालयले तीन करोड ३७ लाख ३१ हजार ३३ रुपैयाँ खर्च गरेको छ ।

यस्तै उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालयले ३८ करोड ३६ लाख ४२ हजार पाँच सय ५९ रुपैयाँ बजेट खर्च गरेको छ भने कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले एक करोड चार लाख २३ हजार एक सय ९९ रुपैयाँ खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३ करोड ४२ लाख ९४ हजार नौ सय ४० रुपैयाँ खर्च गरेको छ भने खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले २५ करोड ८२ लाख ९४ हजार पाँच ५८ रुपैयाँ खर्च गरेको छ । गृह तथा सञ्चार मन्त्रालयले पाँच करोड १८ लाख ८२ हजार दुई सय ८२ रुपैयाँ खर्च गरेको छ ।

वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले यस अवधिमा २८ लाख ६८ हजार एक सय ४८ रुपैयाँ खर्च गरेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयले एक अर्ब एक करोड दुई लाख ३४ हजार पाँच सय ५३ रुपैयाँ खर्च गरेको छ । सबैभन्दा बढी बजेट यसै मन्त्रालयमा रहेको छ ।

महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले दुई करोड ९६ लाख ३३ हजार २३ रुपैयाँ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले एक अर्ब ३९ करोड ७८ लाख ८७ हजार दुई सय ७४ रुपैयाँ खर्च गरेको छ भने प्रदेशसभाले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा चार करोड ६४ लाख ६५ हजार तीन सय पाँच रुपैयाँ खर्च गरेको छ । प्रदेश लोकसेवा आयोगले एक करोड ६७ लाख सात हजार दुई सय ६२ रुपैयाँ खर्च गरेको छ ।

यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालयले एक करोड एक लाख १२ हजार चार सय ६४ रुपैयाँ खर्च गरेको छ भने प्रदेश नीति तथा योजना आयोगले २५ लाख ३९ हजार पाँच सय ९७ रुपैयाँ खर्च गरेको छ ।