काठमाडौँ । सैनिक उपरथी प्रेम शाहीलाई अवकाशको मुखमा नेपाली सेनाले सैनिक प्रहरी हिरासतमा राखेको छ ।
उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
प्रवक्ता भण्डारीका अनुसार विगतमा भ्रष्टाचार गरेको आरोप लागेको र उक्त विषयमा छानबिन बाँकी रहेकाले हिरासतमा लिइएको हो ।
उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वोच्चले पदावधि नथपेको भए उनी पुस २० गते बुधबार उमेर हदका कारणले अवकाशमा जाँदै थिए ।