बेलायतले युक्रेनलाई ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने



बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाइसकेको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शनिबार टेलिफोन गरी लण्डनले युक्रेनमा थप १२ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाउने बताएका हुन् ।


‘युक्रेनमा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाउनु भनेको बेलायतको सहयोगमा वृद्धिको सुरुवात हो,’ प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपतिसँग टेलिफोनमार्फत् भनेको जेलेन्स्कीको सचिवालयले बताएको छ ।

आगामी हप्तासम्ममा स्थल सेनाले प्रयोग गर्ने १४ वटा ट्याङ्क युक्रेन पुग्नेछन् । बेलायतले करिब ३० वटा ठूला र स्वचालित बन्दूक (एएस–९०)पनि सहयोग गरेको छ ।

उक्त एक बन्दूकले सामान्य एक बन्दूक चलाउने करिब पाँच जनालाई प्रतिरक्षात्मक आक्रमण गर्न सक्ने बेलायत सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कीभलाई बेलायतले गरेको सहयोगबारे थप विवरण सोमबार सार्वजनिक गरिने बताइएको छ । गत डिसेम्बरमा रूसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले बताए अनुसार सन् २०२२ को फेब्रुअरीमा द्वन्द्व सुरु भएयता पश्चिमी मुलुकहरूले युक्रेनलाई ३५० भन्दा बढी ट्याङ्क, ७०० ठूला हतियार र १०० भन्दा बढी धेरै रकेट हान्नसक्ने क्षेप्यास्त्र उपलब्ध गराएको उनले बताएका थिए ।

गेरासिमोभका अनुसार युक्रेनलाई कुल १०० अर्ब अमेरिकी डलर बराबरको वैदेशिक आर्थिक सहयोग प्राप्त भएको छ । मस्कोले कीभलाई सैन्य सहायताको निरन्तर विरोध गर्दै आएको छ ।