गण्डकी । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले प्राविधक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
पोखरा महानगरापालिका-३२, राजाको चौतारास्थित ब्रह्मरुपा माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको आज यहाँ उद्घाटन गर्दै उनले देशका लागि योग्य र सक्षम नागरिक उत्पादन गर्न प्राविधिक शिक्षा अपरिहार्य रहेको बताए ।
विद्यालयलाई गण्डकी विश्वविद्यालयको फिडर विद्यालयका रपमा हेरिएको बताउँदै उनले यो प्रदेशकै उच्चकोटीको शैक्षिक संस्था बन्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले विद्यालयले गुणस्तरीय शिक्षालाई जोड दिएको उल्लेख गर्दै विद्यार्थी, शिक्षक र अभिभावक सबैको साथ सहयोगमा उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने बताए ।
प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयको आर्थिक विवरण, भावी रणनीति र योजना प्रस्तुत गर्दै यसलाई जिल्लाकै सूचना प्रविधि मैत्रीे विद्यालयका रूपमा अगाडि बढाउने बताए । विद्यालय निरीक्षक विश्वराज आचार्य, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, नेपाल शिक्षक सङ्घ कास्कीका अध्यक्ष रमेश भट्टराईलगायतले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा गरेको योगदानको चर्चा गरे ।
उक्त अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण एवं विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रमका साथै नाटक प्रस्तुत गरिएको थियो । विद्यालयमा हाल आठ सयभन्दा बढी विद्यार्थी, ४७ शिक्षक कर्मचारी रहेको र प्राविधिक धारतर्फ कम्प्युटर इञ्जिनीयरअन्तर्गत कक्षा ९ देखि १२ सम्म र साधारणतर्फ नर्सरीदेखि १२ कक्षासम्म अध्ययन अध्यापन हुँदै आएको छ ।