पोखरामा आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउन जाँदा जलेर घाइते भएकी महिलाको मृत्यु



पोखरा । पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।  


क्षेत्रीले आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि बचाउने क्रममा घरभेटी सापकोटालाई पनि आगो लागेको समाचार बाहिरिए पनि के कसरी क्षेत्री र संगीतालाई आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेकाले पछि मात्र यथार्थ थाहा हुने प्रहरीले बताएको छ ।  

दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।