पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक जारी



काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने माओवादी सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराएका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।


बिहिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पनि पेस गरेका थिए । आजको बैठकमा उक्त प्रतिवेदनमाथी नेताहरुले आ-आफ्नो धारणा राख्ने सचिव देवेन्द्र पौडेलले बताए ।