पाकिस्तानको क्वेटामा सिलिन्डर विस्फोट हुँदा ६ जनाको मृत्यु



पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ ।

देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको स्याटेलाइट टाउन क्षेत्रमा एक परिवारका सदस्यले हिटर बाल्ने प्रयास गर्दा विस्फोट भएको थियो । उद्धार टोली घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लगिएको छ ।


विष्फोटमा परी एक दम्पती र उनीहरुका चार सन्तानसहित सबैको घटनास्थलमै मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।

सिलिण्डरबाट ग्यास चुहिएर विष्फोट भएको र घरमा समेत गम्भीर क्षति पुगेको छ । क्वेटा लगायत बलुचिस्तानका धेरैजसो भागमा माइनस १५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमले चिसो मौसमको सामना गरिरहेको छ ।