पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मन्त्री किराती



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

४४औँ पर्यटक प्रहरी दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताएका हुन् ।


‘पर्यटन विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्त्व छ, प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सबै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्छ’, उनले भने ।

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवं नीति तयार गरी सोहीअनुरूप अगाडि बढ्नुपर्ने बताए । पर्यटन प्रवर्द्धन, विकास एवं समृद्धिमा सम्बद्ध निकायले आ–आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशील भई प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।