नेसपाले पार्टी एकताको पहलका लागि वार्ता टोली बनाउँदै



काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बैठक शुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकतालगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् । यस्तै नेसपाले संवादको लागि संवाद समिति पनि गठन गर्ने गर्नेछ ।


समाजवादी ध्रुवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय , आगामी रणनीति लगायत एजेण्डाहरूमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए । गत मंसिर ४ को निर्वाचनमा नेसपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो ।

त्यसअघि नै माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको थियो । प्रचण्ड र बाबुरामबीच शनिबार पनि छलफल भएको थियो । लगत्तै बसेको नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।