नेपाल क्रिकेट संघले भन्यो–सन्दीपलाई टिममा फर्काउनेबारे छलफलमा छौं



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेका विषमा संवेदनशील रहेको बताएको छ । क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेको विषयमा आफूहरु संवेदनशील भएको बताएका हुन् ।

उनले सन्दीप नेपालका लागि चाहिने खेलाडी भएको भन्दै यस विषयमा आफूहरु छलफल गरिरहेको बताए ।


उनले भने, ‘नेपालको लागि चाहिने खेलाडी हो । तर आईसीसीले नेपालको कानूनले अनुमति दिन्छ भने अगाडि बढ्नु भनेको छ। त्यो विषयमा हामी छलफल गरिरहेका छौं।’

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

अध्यक्ष चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरे ।

उनले आफूहरुको नियत गलत नभएको बताए । सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको

नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।