नासलचोकमा वसन्त श्रवण(फोटोफिचर)



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गरेकी छन् ।

राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा बसन्तपुरमा वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो ।


त्यसअवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवणको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेकी छन् ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति रहेको थियो ।

वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ ।

तस्बिरः प्रदीपराज वन्त/रासस