तनहुँ । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ ।
व्यास नगरपालिका-११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । वर्षौँदेखि व्यक्तिले कब्जा गरी भोगचलन गर्दै आएको उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी हाल चिस्यान केन्द्र निर्माण गरेको व्यास नगरपालिकाका अधिकृत भेषराज तिवारीले जानकारी दिए ।
केन्द्रको देवचुली कन्टक्सन कम्पनी प्रालिले २०७८ भदौ १३ गते सम्झौता गरी निर्माण थालेको थियो । गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीमा केन्द्र बनाइएको हो । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक रू चार-पाँच करोड बाहिरिनबाट रोकिने नगरपालिकाले जनाएको छ ।
यसअघि आलु, फलफूल, तरकारीलगायतका बस्तु कोल्डस्टोरमा राख्नुपर्ने भएकाले पोखरा र चितवन लैजाने गरिन्थ्यो । चिस्यान केन्द्र निर्माण सम्पन्न भएपनि थ्रीफेस लाइन जडान बाँकी रहेकाले जडान प्रक्रिया अघि बढाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
जेनेटर चलाउनको लागि विद्युत् ट्रान्सफर जडान गर्नुपर्ने भएकाले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको उनले बताए । चिस्यान केन्द्र चालु आवबाट सञ्चालन गर्ने तयारी गरेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।