तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन 



तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन् ।

करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए। केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ ।


कालिजको अण्डालाई ह्यारी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए। हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उनले भने, ‘उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।’

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अर्ग्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज दुई हजार पाँच सय र पोथी एक हजार आठ सयमा बिक्री गर्दै आएको उनले बताए ।

अण्डाको प्रतिक्रेट नौ सयमा बिक्री हुन्छ । उनले भने, ‘फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।’

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए ।

सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ ।

कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।