काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आईस्पानले नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।
इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण सिर्जना नगरेसम्म सेवा दिन नसक्ने जनाएको हो । देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आइस्पानले आहृवान गरेको छ । विद्युत् प्राधिकरणले काठमाडौं, विराटनगर, इनरुवा, काँकडभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, भैरहवा, डोटी, ललितपुर लगायत स्थानमा इन्टरनेट सेवा प्रदायकको कार्यालयमा विद्युत् लाइन काटिदिएको आइस्पानले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्यक्ष सुधीर पराजुलीले विद्युत प्राधिकरणले मोनोपोली देखाएरहे आफूहरु इन्टरनेट हड्ताल गर्न पनि पछि नपर्ने चेतावनी दिए । उनले इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने चेतावनी दिए । उनले आफूहरुको तालाचाबी प्राधिकरणमा बुझाउने बताए ।