काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । न्युनतम साझा कार्यक्रममा आफ्ना एजेण्डाहरू समावेश भएको भन्दै विश्वासको मत दिने आधार तय भएको जसपाले जनाएको हो ।
‘जसपाले राखेका शर्तहरूप्रति सरकार सकारात्मक देखिएको पार्टीको बुझाइ छ । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका शर्तहरुमध्ये २ वटा शर्तहरू समेटिएको देखिन्छ,’ जसपाले भनेको छ, ‘पार्टीका मूलभुत सिद्धान्तको प्रतिकूल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ । यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ ।’
जसपाले पृथ्वी ज्यन्तीमा सार्वजनिक विदा दिने कुरामा भने आपत्ति जनाएको छ । ‘पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने शर्त राखेको छ ।