केभिन मेकार्थी पन्ध्रौँ पटकको मतदानमा अमेरिकामा सभामुख निर्वाचित



संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन् । त्यसले वासिङ्टनमा कैयौँ दिनदेखि कायम गतिरोध र विभाजनलाई अन्त्य गरेको छ ।

पन्ध्रौँ चरणको मतदान पछि उनी अन्ततः सफल भएका थिए। यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो । रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए ।


राष्ट्रपति बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । यसअघि रिपब्लिकनहरूले सार्वजनिक रूपमा नै बाइडन, उनको प्रशासन र पारिवारिक व्यवसायका लेनदेनहरूमा छानबिन गर्ने बताएका थिए ।

तर सभामुख चुनिएको पहिलो दिन ह्वाइट हाउसबाट सहकार्यको प्रस्ताव सार्वजनिक भएको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा बाइडनले केही समय पहिले मिडटर्म निर्वाचनमार्फत मतदाताहरूले रिपब्लिकनहरूलाई आफूसँग मिलेर काम गर्ने अपेक्षा राखेको बताए ।

पछिल्लो गतिरोधले संसद्का कतिपय महत्वपूर्ण जिम्मेवारी जस्तै समितिहरूको गठन र नयाँ सदस्यहरूको शपथग्रहण प्रभावित बनाएको थियो । यसैबीच केभीन मेकार्थीलाई सभामुख चयन गरिएपछि सदनका डेमोक्रेट सदस्यहरूले रिपब्लिकन दलभित्रको अतिवादी खेमामा शक्ति पुगेको टिप्पणी गरेका छन् ।