काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धस्थित दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण सुरु भएको छ ।
नमोबुद्ध नगरपालिकालगायत छिमेकी पालिका रोशी, तेमाल र महाभारतलाई समेत उपयोगी हुनेगरी नमोबुद्धमा निर्माणाधीन शीत भण्डारमा कृषिजन्य उत्पादन भण्डारण गृह निर्माण गर्न लागिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार रु आठ करोड ३६ लाख ४६ हजार लागतको अनुमान गरी बहुवर्षीय ओजनामा समावेश गरी नगरपालिकाले उक्त शीतभण्डार निर्माण गर्नेछ ।
जम्मा छ वटा च्याम्बर रहेको यस शीत भण्डारमा प्रतिचेम्बर ३० मेट्रिकटनका दरले एक सय ८० मेट्रिकटन तरकारी तथा फलफूललगायतका अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जिनीयर उज्ज्वल अर्यालले जानकारी दिए । पालिकामा शीत भण्डार निर्माणका लागि जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा रु ८५ लाख विनियोजन गरिएकोसमेत लम्सालले बताए ।
शीत भण्डारको शिल्यान्यास गर्दै नगर प्रमुख कुनसाङ लामाले आफ्नै पालिकामा शीतभण्डार स्थापना सुरु भएसँगै पालिकाका बासिन्दाले चर्को मूल्य तिरेर पाँचखाल, बनेपा, पनौती पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।