काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो। त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ।
प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए। भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। देउवाले विश्वासको मत दिने आश्वासन दिएकाे बताइएकाे छ ।
कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा छन्।