कांग्रेस कार्यसम्पादन समिति बैठक जारी



काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा जारी बैठकमा पार्टीका पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्य उपस्थित छन् । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्नेछ । त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।


यसअघि आज बिहान सभापति देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए ।

जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने कार्यसूची छ ।