काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विकास विरोधी पार्टी भएको आरोप लगाएका छन् ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने बताए । उनले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको पनि बताए ।
उनले भने, “उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ । त्यही हो लोकतन्त्र, त्यही हो विकास ।” अध्यक्ष ओलीले देशकोबारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको बताए ।
उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पुर्याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए । उनले भने, कांग्रेसको महाधिवेशनमा केही कुरा उठेन । खाली पदाधिकारी छान्ने भन्नेमा केन्द्रित रह्यो।’
अध्यक्ष ओलीले निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि बताए ।
सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए ।