एमालेलाई मुख्यमन्त्री दिएकोमा प्रदेश एकमा माओवादी असन्तुष्ट, सरकारमा सहभागी नहुने



विराटनगर । प्रदेश एकमा सरकारको नेतृत्व नेकपा एमालेलाई दिएको भन्दै नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ । प्रदेश सांसदहरूको भावना विपरीत केन्द्रले निर्णय गरेकाले तत्काल सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सांसदहरूको भावना विपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने बताएका छन् । आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।


आज कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । उनले सत्तारूढ दलका शीर्ष नेताहरूले यस प्रदेशमा सरकारको नेतृत्वको विषयमा गरेको निर्णय सच्याउन माग गरेका हुन् । आङ्बोले प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुने सहमति गरेको आइतबार विराटनगरमा बताएका थिए । तर, त्यस विपरित केन्द्रीय नेताहरुको बैठकले प्रदेश–१ सरकारको नेतृत्व पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको छ ।