उर्लाबारी प्रादेशिक महोत्सवमा चार देश सहभागी हुने



मोरङ । मोरङको उर्लाबारीमा माघ २१ मा हुन लागेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले महोत्सवको तयारी भइरहेको र हालसम्म ७० प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी दिए ।

उत्पादक र उपभोक्ताबीच सुमधुरसम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिने महोत्सवका संयोजक तथा उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराईले जानकारी दिए ।


महोत्सवमा बङ्गलादेश, पाकिस्तान, भारतका व्यवसायी सहभागी हुने भएका छन् । सङ्घका अनुसार तीन देशले १३ वटा स्टल बुकिङ गरिसकेका छन् । पछिल्लो समय बजारमा देखिएको आर्थिक अस्थिरतालाई चलायमान बनाउन प्रादेशिक महोत्सव गर्न लागिएको सङ्घको भनाइ छ ।

महोत्सवमा कृषिजन्य वस्तु, खाना तथा घरेलु उत्पादन, हस्तकला तथा गार्मेन्ट, फुटवेयर, अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङ, जडीबुटी, औषधिजन्य वस्तु तथा निर्माण सामग्री राखिनेछन् । महोत्सवमा स्थानीय संस्कृति तथा मौलिक वस्तुहरुको प्रदर्शनी पनि रहने सह–संयोजक तथा सङ्घका पूर्वअध्यक्ष प्रितम खड्गीले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल देखाइने उनले जानकारी दिए । नौ दिनसम्म चल्ने महोत्सवमा एक लाख ७० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र रू २५ करोड कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा उर्लाबारी नगरपालिका संरक्षक समिति, छिमेकी नगरपालिका तथा गाउँपालिका, प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा सञ्चार क्लब उर्लाबारीसँग समन्वय गरिएको छ ।