उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप



काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ ।

माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।


कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

साथै उनले इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदानसमेत गर्न ह्विप जारी गरेका छन् ।