आत्मदाहको भयानक संकेत राज्यको चरम असफलताको होः मेयर साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेमप्रसाद आचार्यको आत्मदाहको कारण राज्य भएको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत मेयर साहले सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता भएको बताएका हुन् ।


उनले भनेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

मेयर साहले नागरिकले गर्नुपर्ने सामान्य दायित्व पुरा गर्नुपर्ने चेत हामीहरुमा नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नुपर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठूला ठूला समाचार बनाउनुमा व्यस्त छौँ ।’